जनतामा जान एजेन्डा खोज्दै माओवादी, प्रवक्ता भन्छन्– ठूलो रूपान्तरणको प्रक्रियामा जाँदैछौँ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी ठूलो रुपान्तरणको प्रक्रियामा जाने बताएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले ठूलो रुपान्तरणको प्रक्रिया जाने निर्णय गरेको हो ।
बैठकपछि सञ्चाकरर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए ।
उनले बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेकोे र बैठकमा बोल्ने नेताहरुलाई समय निर्धारण नगरीकन अभिव्यक्ति गर्न दिइएको पनि बताए ।
‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आज ५ जना कमरेडहरुले आफ्नो भनाइ राख्नुभयो । जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले ५ जना साथीहरुले राख्नुभयो,’उनले भने,‘राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौँ ।’
प्रवक्ता सापकोटाले नेकपा (माओवादी केन्द्र) एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चलन गर्ने बताए ।