स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता- सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेस गरेको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताए । उनले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताए । मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गरे ।

जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।

उनले भने ‘अब यो साउन, भदौ र असोजमा यो बढी सङ्क्रमित हुने स्थिति भएको कारणले हामीले यसमा विशेष सावधानी अपनाउन जरुरी छ । माननीयज्यूहरूको पनि सचेतना अभिवृद्धि गर्ने काममा, समन्वय गर्ने काममा महत्वपूर्ण भूमिका हुनसक्छ । त्यसको निम्ति पनि म आग्रह गर्न चाहन्छु । माननीय योगेश भट्टराईले जापानले निकालेको युरोपियन युनियनले आधिकारिकता दिएको खोपको बारेमा सोधखोज गर्नका निम्ति उहाँले यहाँ उल्लेख गर्नुभएको छ । त्यसका निम्ति पनि मन्त्रालयले काम गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । केही माननीयजीहरूले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गर्नुपर्छ भन्नु भएको छ । हाम्रो करिब ५३ हजारको संख्यामा उहाँहरू हुनु भएकाले उहाँहरूलाई व्यापक ढंगले परिचालन गर्ने स्थिति पनि बन्न सक्छ विशेष गरी चेतना अभिवृद्धि गर्ने काममा । यी सबै कुरालाई मन्त्रालयले गम्भीरतापूर्वक लिने त्यस अनुसार कार्य योजना बनाउने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरूलाई पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =