वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा परिणत गर्दैछौँ : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखा विदेश पठाउने मात्रै भयो भन्ने भ्रम पैदा भएको भन्दै अब त्यसको रिस्ट्रक्चर गरी आन्तरिक रोजगार महाशाखा बनाउने बताए । उनले आन्तरिक रोजगार महाशाखा बनाएपछि मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रुपमा निर्माण गर्ने बताए ।
उनले आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रुपमा मनाउने गरी तयारी भइरहेको पनि बताए । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौती रहेको बताए ।
उनले भने ‘श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगारी महाशाखा रहेको छ । महाशाखा नै वैदेशिक रोजगारी भएपछि श्रम मन्त्रालय खालि विदेश मात्रै पठाउने भन्ने भ्रम परेको छ । हामीले त्यसलाई रिस्ट्रक्चर गरेर मन्त्रालयको संरचना परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा भनेर अब मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रुपमा निर्माण गर्नेछौँ । आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रुपमा मनाउने भन्ने हिसाबले अघि बढाएका छौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने, कसरी यहाँ रोजगार सिर्जना गर्ने भन्ने बारेमा मन्त्रालयको सबैभन्दा बढी ध्यान हुन्छ ।’
मन्त्रालयले प्रत्येक पालिका अन्तर्गतको रोजगार सेवा केन्द्रलाई रोजगार हबको रुपमा विकास गर्न लागेको बताए ।








