उपसभामुख रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै प्रतिपक्षको आपत्ति

काठमाडौँ । प्रतिपक्ष दलहरूले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबारको आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखप्रति मिडिया ट्रायल भएको बताएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि उपसभामुखमाथि आरोप लगाएर चरित्रहत्या गर्ने काम भएको बताए ।

उनले मान्छेको चरित्र हत्या गर्ने काममा संसदले न्याय दिनुपर्ने बताए । उनले राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिने बताए । उनले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि आरोप लगाइएको भए प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने ‘उपसभामुखको विषय अहिले भर्खर आयो । एक वर्षअघिको कुरा र खासगरी राजनैतिक र नैतिक प्रश्न यो हो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषद्मा तपाईँहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ त्यसलाई हाइलाइट गरिएको छ, यदि साँच्चै त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारको प्रति, आफ्नो चरित्रहत्या गर्नेकाप्रति यो संसदले पनि न्याय गर्नुपर्छ । राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात केके निर्णय गर्न परेको छ, त्यो उद्देश्यबाट प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्दछौँ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भएकोप्रति आपत्ति जनाइन् । उनले आचरणको कुरा गर्ने हो भने सबै सांसदको आचरण हेर्नुपर्छ भन्दै आक्रोश व्यक्त गरिन् । उपसभामुखमाथि छानबिन गर्ने भए पार्टी पनि तयार रहेको बताइन् ।

उनले भनिन् ‘उपसभामुख इन्दिरा रानाको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु । यदि साँच्चै नै गर्ने हो भने पहिला बुझौँ । यदि हामीले आचरणको कुरा गर्छौं भने ल गरौँ । सबै जनाको आचरण हेरौँ । सबै जनाको लेटरप्याडबाट केके निस्किएको छ हेरौँ । तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल गर्यो, मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईँले डिक्लियर गर्नुभयो । डिक्लियर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ । एउटा महिला जसले डिफिकल्ट टायमबाट यहाँ आउनुभएको छ, उहाँलाई हेप्न नखोज्नु होला । एक वर्षअघि देखि हातमा पत्र बोकेर बस्नुभएको रहेछ त कुन बेला ठोकौँ भनेर । यो छानबिन गर्ने भए गरोस्, पार्टी पनि तयार छ ।’

उनले आफूहरू चरित्र हत्याको लागि तयार नरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *