बिआरआई फ्याक्टरका कारण सरकार परिवर्तन भयो : देव गुरुङ

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिआरआई परियोजनालाई अगाडी बढाउन लागेपछि सरकार परिवर्तन भएको दाबी गरेका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बिआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले बिआरआई परियोजनालाई अगाडी बढाउन लागेपछि सरकार परिवर्तनको खेल शुरु भएको बताएका हुन् ।

उनले सन् २०१७ मा बिआरआईमा सम्झौता भएको उल्लेख गर्दै अहिले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण रहेको बताए । दाहाल नेतृत्वको सरकारले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गरेर प्रक्रिया अगाडी बढाउन लागेकै बेला सरकार परिवर्तन भएको उनको भनाई छ ।

दुई पक्षबीच हस्ताक्षर गर्ने तयारी भइरहेको बेलामा सरकार परिवर्तन भएको उनले बताए । उनले काँग्रेस–एमालेका बीचमा सरकार बनाउने सहमती हुनुको अघिल्लो दिन एक दलले ऋणसहितको बिआरआई लिनु हुँदैन भनेर वक्तव्य जारी गरेको भन्दै यसले सरकार परिवर्तन हुनुको एउटा ‘फ्याक्टर’ बिआरआई भएको देखाएको जिकिर गरे ।

उनले दलहरुका बिचमा समझदारी जुटाएर बिआरआई परियोजनालाई अगाडी बढाउनुको विकल्प नभएको बताए । उनले मुलुकको समृद्धिको लागि बिआरआई परियोजना आवश्यक रहेको बताए । बिआरआई परियोजना कुनै शैन्य रणनीतिसँग नजोडिएको उनले बताए ।

नेकपा(एमाले)का नेता डा. राजन भट्टराईले बिआरआई परियोजनालाई खेलाँचीको रुपमा लिनु नहुने बताए । उनले बिआरआई परियोजना अनुदानमा लिनु नेपालको पहिलो प्राथमिकता बनाउनुपर्ने भन्दै आवश्यकताको आधारमा अरु रुपमा पनि छलफल गर्न सकिने बताए ।

उनले नेपालको आवश्यकता र प्राथमिकताको आधारमा विदेशी पुँजी, प्रविधि र ज्ञान भित्राउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्वमुख्यसचिव तथा चीनका लागि नेपालका पूर्वराजदुत लिलामणि पोखरेलले बिआरआई परियोजना अगाडी बढाउनुपर्ने धारणा राखे ।

उनले बिआरआई सम्झौतामा मुलुकलाई नोक्शान हुने कुनैपनि कुरा नभएको भन्दै अनावश्यक रुपमा विरोध गर्नु आवश्यक नभएको बताए ।

उनले देशले आफ्नो आर्थिक समृद्धि र विकासका लागि स्वतन्त्र रुपमा निर्णय गर्नुपर्ने भन्दै कसैको दबाब र हस्तक्षेपमा बिआरआई परियोजनाबाट पछि हटेमा राष्ट्रका लागि घात हुने बताए ।

रुसका लागि पूर्वराजदुत तथा परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले पनि नेपाल बिआरआई परियोजनाको पक्षमा उभिनुपर्ने बताए ।

उनले प्रो अमेरिकन र प्रो इन्डियन भएर नहेरी प्रो नेपाल भएर बिआरआईको पक्षमा आफूलाई उभ्याउन परराष्ट्र मन्त्रीलाई आग्रह गरे ।

उनले बिआरआई परियोजना चिनको मात्रै नभएर सहभागि हुने सबै देशहरुको साझा परियोजना भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =