चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ ।

भवनलाई बाढीबाट जोगाउन तीनपटक फरक फरक स्थानमा सारियो । ठाउँ सार्ने कार्य हुँदै आए पनि बाढीले भवनलाई डुबान हुनबाट अझै जोगाउन सकिएको छैन ।

गत साताको अविरल वर्षाबाट विद्यालय डुबानमा पर्दा पर्खाल भत्किएको छ । खेलमैदान पूरै बालुवाले पुरिदिएको छ । शैक्षिक सामग्रीसँगै पुस्तकालयमा राखेका पुस्तक, इलेकट्रोनिक्स सामग्री, शिक्षक कर्मचारीको अभिलेख राख्ने पुस्तिका भिजेर कामै नलाग्ने भएका छन् ।

विद्यालयको कक्षाकोठा र कार्यालय कक्षमा राखेका फर्निचर बाढीको पानीले बगाएर लगेकाले विद्यालयलाई सहज रूपमा सञ्चालन गर्न सकिने अबस्था नरहेको विद्यालयका प्रधानाध्यापक जनक थापाले बताए ।

उनका अनुसार वि.सं २०१७ सालमा तत्कालीन रौतेली विचुवा गाउँपञ्चायतको वडा नं ७ मोहनपुरमा विद्यालय स्थापना गरिएको थियो । ‘विद्यालय स्थापना भएको २८ वर्षपछि वि.सं २०४५ मा चौधर नदीमा बाढी आयो,’ उनले भने, ‘त्यही बाढीले विद्यालयका भौतिक संरचना बगायो, नदीले विद्यालयका भौतिक संरचना बगाएपछि भुर्षामा सारियो, विद्यालय सारिएको दुई वर्षपछि नदीमा आएको बाढीले विद्यालय बगाएर निकै क्षति पुर्‍याएपछि २०४७ सालमा इमलिया गाउँमा सारियो ।’

विद्यालय सार्दै आए पनि बाढीले दुःख दिन नछाडेको उनले उल्लेख गरे । २०६५ सालको बाढीले पनि विद्यालयमा निकै ठूलो क्षति पुर्‍याएको थियो ।

विद्यालयसहित इमलिया गाउँ जोगाउनका लागि महाकाली सिँचाइले नहरसँगै निर्माण गरेको माटोको छेकवार बाँध फुटालेर बाढीको पानी पस्दा यस वर्ष पनि विद्यालयले निकै ठूलो क्षति ब्यहोर्नु परेको उनको भनाइ रहेको छ । नदीको बाढीले पटक पटक विद्यालयमा क्षति पुर्‍याउँदै आए पनि नदी नियन्त्रणका लागि भरपर्दो व्यवस्था अहिलेसम्म नगरिएको गुनासो प्रअ थापा गर्छन् ।

‘पटक पटक विद्यालयसहित इमलिया गाउँ चौधर नदीको बाढीको चपेटामा पर्दै आए पनि बलियो तटबन्ध निर्माणको कार्य हुन सकेका छैन,’ उनले भने, ‘नदी नियन्त्रणका लागि भरपर्दो व्यवस्था नगरिए विद्यालयसहित तटीय क्षेत्रका गाउँमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेको छ ।’

बर्सातको पूरै समय बाँकी रहेकाले नहर भत्केको ठाउँमा मर्मत गरी पुनः नदी पस्ने खतरा टार्नका लागि कार्य गरिनुपर्ने उनले बताए । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले दुई दशकपछि चौधर नदी गाउँ पस्दा डुबानको समस्या उत्पन्न भएको बताए ।

‘नदीको बाढी पस्दा भएको डुबानबाट निकै ठूलो क्षति भएको छ,’ उनले भने, ‘बाढीको पानीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनः निर्माणका लागि आन्तरिक बजेटसँगै बाह्य क्षेत्रबाट बजेटको व्यवस्था गरी पुनः निर्माणको कार्य अगाडि बढाउँछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =