तीन वटै सुरक्षा अङ्गका प्रमुखलाई प्रचण्डले बोलाए खुमलटार, दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
उनले आज तीन वटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा उनिहरुसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिए ।
प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविच्छिन्न रुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे ।








