तेस्रोपटक प्रधानमन्त्री बन्दै अध्यक्ष ओली, भोलि शपथ
२०८१ असार २९ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोलि (आइतबार) मात्र प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि भोलि नै शपथ गराइने भएको छ । यससहित ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।
शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए । ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए ।
२०८१ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








