नयाँ सरकार गठनमा संविधानको चर्चा, यस्तो छ सांसदहरुको तर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरुले आ–आफ्नै दाबी प्रश्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री संविधानको कुन धारा अनुसार नियुक्त गर्नेछन् भन्नेमा सर्वत्र चासो र वहसहरु भइरहेका छन् ।

वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६(२) बमोजिम नियुक्त भएको र उनले विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) मा जाने माओवादी केन्द्रका नेताहरुले दाबी गरिरहेका छन् भने कांग्रेस–एमालेका नेताहरु भने धारा ७६(२) बमोजिम नै प्रधानमन्त्री नियुक्त हुने बताइरहेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरिएको बताए । उनले नयाँ सरकार धारा ७६(२ं) अनुसार नै बन्ने जिकिर गरे ।

‘प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएन भने ७६(३) को सरकार बन्छ भनेर एकप्रकारले भ्रम सिर्जना गर्न खोजिएको छ । यो बेठिक हो,’उनले भने,‘प्रायोजित ढंगबाट बोलिएको विषयवस्तु हुन् । हामी यसमा सचेत छौँ । सर्वोच्चको नजिर र हाम्रो अभ्यासहरु छन् । संविधानको व्यवस्था पनि छन् । नयाँ सरकार धारा ७६(२ं) बमोजिम बन्छ ।’

त्यस्तै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले दुई ठूला दलहरु मिलेर सरकार बनाउँदा कुन धारा अनुसार सरकार बनाउने भन्नेमा संविधान मौन रहेको बताए ।

उनले ठूला पार्टीहरु मिलेर गरिएको सम्झौतालाई नै संवैधानिक रुपले लिनुपर्ने भन्दै सोही बमोजिम सरकार गठन हुने बताए ।

‘ठूला पार्टीहरु मिलेर जाँदाखेरी कसरी जान्छ, हामीले संविधानमा ठूला पार्टीहरु एकैचोटी मिलेर आए के गर्ने भन्ने कुरामा मौन छ नि, त्यो मौन भएको कारणले यो कुरा उठाएको हो,’उनले भने,‘तर यसले आफ्नो कोर्स लिन्छ । ठूला पार्टीहरु मिलेर सम्झौता गर्छन् भने त्यसैलाई नै संवैधानिक रुपले लिनुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएमा संविधानको धारा ७६(३) बमोजिमको सरकार गठन हुने दाबी गरे ।

सांसद सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मतदान प्रक्रियाबाट नै विश्वासको मत लिने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =