संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजियो : माओवादी सांसद यादव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजिएको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरूले संविधान संशोधनमार्फत दुई दलीय प्रणालीमा लान खोजिएको बताएका हुन् । उनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने बताए । उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षीय र सर्वदलीय रुपमा हुनुपर्ने बताए ।
उनले भने ‘संविधान संशोधनका लागि दुई ठूला दलहरूले दुई दलीय प्रणाली लान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सह्य हुनसक्छ ? म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरि संविधानको चारवटा पिल्लर खम्बा हो, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी । यी चारवटा पिल्लरमा समानुपातिक र समावेशी हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यान आकृष्ट गराउन चाहन्छु, अब संविधान संशोधन गर्दाखेरि सर्वपक्षीय, सर्वदलीय हिसाबमा होस् ।’
उनले तराई/मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु भएको बताए । उनले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमि मरुभूमिकरण हुने अवस्था रहेको बताए । उनले चुरे दोहन रोक्नुपर्नेमा जोड दिए । सांसद यादवले वर्तमान सरकार संविधानको धारा ७६ (२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६ (३) अनुसार सरकार बन्ने बताए ।








