रास्वपाका मन्त्रीलाई बर्तौलाको प्रश्न– गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन् । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे ।

‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो,’उनले भने,‘तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने । प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो । त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरु फर्किनुभएको छ ।’

उनले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईहरु पदमा रहनुहुन्छ, खोल्नुहोस्,’उनले भने,‘माग गर्न चाहान्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईहरुले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ति सूचना तपाईले दिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =