गणतन्त्रलाई बलियो बनाउन एमालेसँग कांग्रेसको सहकार्य

मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज मोरङमा आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरू दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरू दलहरूसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
उनले भने, ‘राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ ।’








