सीजी पोलिटेक्निकद्वारा सरावल गाउँपालिकाका युवालाई टेक्निसियन तालिम

बर्दघाट । सीजी पोलिटेक्निकद्वारा नवलपरासीको सरावल गाउँपालिकाका युवाहरूलाई टेक्निसियन तालिम प्रदान गरिएको छ । युवाहरूलाई स्वरोजगार बनाउन सरावल गाउँपालिकासँगको सहकार्यमा उक्त तालिम प्रदान गरिएको हो ।
चौधरी फाउन्डेसनले सीजी इलेक्ट्रोनिक्सको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो तालिमको आयोजना गरेको जनाएको छ ।

चौधरी फाउन्डेसनका अनुसार सरावल गाउँपालिकाका २६ युवाहरूलाई तालिम दिइएको छ । तालिम ४८ दिनको रहेको थियो । तालिमका सहभागीहरूलाई सोमबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ । नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

सरावल गाउँपालिकाले यस्तो तालिम आवश्यक रहेको भनी प्रस्ताव गरेपछि सिजी फाउन्डेसनले तालिमको आयोजना गरेको जनाएको छ । चौधरी फाउन्डेसनले भनेको छ, ‘इलेट्रोनिक्स टेक्निसियनको अभाव रहेछ, यो तामिलले युवाहरूलाई रोजगारी पाउन पनि सजिलो हुने र आफै पनि स्वरोजगार बन्न सक्छन् ।’
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारुले युवाहरूलाई तालिम प्रदान गरेकोमा चौधरी फाउन्डेसनलाई धन्यवाद दिए ।
उनले भने ‘यस्तो कार्यक्रमले युवाहरूलाई तत्काल रोजगारी सिर्जना गर्दछ । उनीहरु आफै पनि उद्यमशील बन्न सक्छन् ।’
चौधरी फाउन्डेसनले नवलपरासीमा सीजी पोलिटेक्निक्समार्फत् ६ महिने प्राविधिक तालिम प्रदान गर्दै आएको छ । यस्तै सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काडमाडौंको चन्द्रागिरि, सुनसरीलगायत देशका विभिन्न जिल्लामा युवाहरूलाई प्राविधिक तालिम दिएको छ ।

सांसद चौधरीले नवलपरासीमा रहेको आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएका छन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका विभिन्न निकाय, चौधरी फाउन्डेसन र अन्य विभिन्न सामाजिक संघसंस्थामार्फत् युवा र महिलाहरूलाई लक्षित गरेर स्वरोजगारमूलक कार्यक्रमहरू भइरहेका छन् ।








