कालीबहादुर खामलाई छाड्न उच्च अदालतको पनि अस्वीकार

उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश सदर गरेको छ । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको थुनामै राख्ने आदेशलाई सदर गरेको हो।

गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो ।

उक्त आदेश बदर गरी आफूलाई थुनाबाहिर राखेर मुद्दाको फैसला गर्नु पर्ने माग उनले गरेका थिए।

जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो ।

चितवनको शक्ति खोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’का कमान्डर खामको सम्पर्क कार्यालय कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो । सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको प्रहरीले अनुसन्धान निष्कर्ष छ।

माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्ति खोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ । शव नारायणीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । खाम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *