खहरे मासेर सडक निर्माणको काम थालेपछि चाँगुनारायणका स्थानीयहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरू आन्दोलित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखी सडक निर्माणको काम थालेपछि स्थानीयहरू आन्दोलित भएका हुन् । उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन् । यस विषयमा जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउँदा समेत जबरजस्ती रातको समयमा काम गर्ने गरेको आरोप लगाएका छन् ।

खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखी सडक निर्माण भएको विरोधमा स्थानीय मात्रै नभई जनप्रतिनिधिहरू समेत आन्दोलित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य सदस्य राधादेवी गैडाले आफूहरूको विरोधका बाबजुद पनि वडा अध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए ।

नगरपालिका र वडाको योजनाअनुसार तीन वटा उपभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियम विपरीत कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी विरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दा समेत रातको समय काम हुने गरेको गुनासो गरे । वडा सदस्यहरूले नियम विपरीत भएको कार्य नरोकिए अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धी निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

वडा सदस्यद्वय प्रधान र गेलालले हिम पाइप निकालेर दाँया बाँया करिडेर निर्माण गर्नुपर्नेमा जोड पनि दिएका छन् । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखी सडक निर्माण गर्ने काम यो नै पहिलो भने होइन । यसअघि पनि नगरपालिका भित्रका विभिन्न वडामा यस्ता काम हुँदै आएका छन् । यस विषयमा नगरवासीले बारम्बार ध्यानाकर्षण गराउँदा समेत जनप्रतिनिधिहरू र सम्बन्धित निकाय काममा तेल हारेर बस्ने गरेको स्थानीयको आरोप छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =