काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन् ।

मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको भनाई थियो ।

‘मेलम्चीको पानी अव काठमाडौंलाई पुग्दैन । याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन’उनले भने,‘यो ल्याउने कहिले हो ? २५ वर्ष लाग्यो मेलम्ची ल्याउन । निस्सासिएर काठमाडौंका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ ।’

शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताए ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

‘हामीले सुनिराखेका छौं–अवदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो । फेरी असारबाट पानी आउँदैन भन्ने आएको छ । खानेपानीको स्रोत व्यवस्थापन सरकारले गर्ने तर वितरण स्थानीय तहलाई दिनुपर्छ’उनले भने,‘देशभरी सुख्खा बढिरहेको हुँदा पानी पुरणभरणको बन्दोबस्त गर्ने । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउने, देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गर्ने । र काठमाडौंको सुविधा उपत्यका बाहिर गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्ने ।’

देशभर सुख्खा बढिरहेको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *