एक हप्ता अघि नै क्यानडा गएका थिए सन्दीप, यस कारण राखियो गोप्य

काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने विश्वकप खेल्दै छन् । अमेरिकाले भिसा नदिएपछि वेस्ट इन्डिजमा उनले विश्वकप खेल्ने पक्का भएको छ । तर उनको यो यात्रा भने रोचक तरिकाले भयो ।

सन्दीप एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य आज मात्रै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खुलासा गरेका छन् । सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्यो । यसका पछाडि धेरै कारणहरू छन् ।

क्यानडामै रहेका बेला ७ जूनमा फेसबुकमा सन्दीपले मनकामना मन्दिर दर्शन गरेको फोटो राखे । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दिर डुल्दै मन भुलाइरहेका छन् । तर, त्यस बेला सन्दीप क्यानडामा अभ्यास गरिरहेका थिए ।

क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको खुलासा गरेपछि यो विषय बाहिर आएको हो ।

सन्दीपको वेस्ट इन्डिज यात्राबारे चन्दले भने– ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरिहरेका थिए । चन्दका अनुसार नेपालका भूतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *