अमेजनमा पाइने माछा मोरङका खोलामा कसरी भेटिए ?

मोरङ । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेलापरेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलोपटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखिएको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरूले यो अतिमिचाहा स्वभाव भएको र नेपालका निम्ति नयाँ प्रजाति भन्ने पुष्टि गरे ।

यो माछाको वासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलोपटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ नामक विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ । स्तरीय मानिएको (क्यु टु) उक्त विज्ञान पत्रिकामा उल्लेख गरिएअनुसार लोहन्द्रा खोलाबाट यो माछाका ४३ नमुना संकलन गरिएको थियो ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र यही जातको अर्को प्रजाति दमकतिरका खोलाहरूमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, २०० देखि ३०० ग्राम तौलसम्मका नमुना संकलन गरिएको थियो ।

अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भने, ‘यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्वारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो, कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ ।’

उनले थपे, ‘जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो । जसकारण हाम्रा स्थानीय माछाहरू नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।’

उनका अनुसार, यो पहिला लजालु र स्थिर बसिराख्छ । तर, मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । ‘सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ । संख्या निरन्तर बढिरहेको छ । अब अरू नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न,’ लिम्बू भन्छन्, ‘व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो । तर, खानमा यो अप्रिय प्रजाति हो ।’

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्न अनुसन्धानकर्ताले सुझाव दिइरहेका छन् । अनुसन्धानकर्ताले लेखेका छन्, ‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।’

तथ्यांकानुसार, नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब २६० प्रजातिका माछा पाइन्छ । तीमध्ये १८ प्रजाति गैरदेशीय छन् । १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैन । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =