मेलम्ची आयोजनाले विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ : कल्याण श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरूसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताएका छन् ।
उनले वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने चेतावनी दिए । उनले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित गर्दै उनले परिणाम निकाल्न नसक्नेहरुसँग वातावरण विनाश गरेबापतको क्षतिपूर्ति माग्नुपर्ने दाबी गरे । उनले मेलम्ची खानेपानी आयोजनामा विकासको गलत अभ्यास गरिएकाले जति पैसा खन्याए पनि पानी आउन नसकेको तर्क गरे ।
उनले आयोजनाका कारण त्यस वरपरको क्षेत्रमा विपद्जन्य घटना बढेको पनि बताए ।
बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गलत विकासलाई नरोक्ने हो भने विनाशका प्रवृत्ति, वातावरण प्रदूषित हुँदै जाने, स्थानीय जीविकाहरू नाश हुँदै जाने र राज्यको जनशक्तिहरू देशबाट विस्थापित भएर परदेश जानुपर्ने ठाउँमा पुगेको बताए । उनले सार्वजनिक स्थलहरू सरकारीकरण भइरहेको भन्दै सरकारीकरण हुन नदिन आग्रह गरे । उनले सरकारी सम्पत्ति भन्नु र सार्वजनिक सम्पत्ति भन्नु एउटै नभएको बताए । उनले चुरेको संरक्षण नगरेकाले मधेस मरुभूमिको प्रक्रियामा गइरहेको बताए ।
उनले भने ‘विकासको नाममा हामीले धेरै नै जलवायु प्रतिकुल कामहरु गरिएको छ । इन्भायरोमेण्टल रङ, क्राइम गरेका छौँ । डेभलपमेण्ट रङ, क्राइम गरेका छौँ । त्यसको हिसाब लिने बेला भएको छ । इन्भायरोमेण्टल रङको बारेमा राम्रोसँग नजर राखेनौँ भने विनाशका प्रवृत्तिहरू बढिरहनेछन् । आज हाम्रा पहाडहरू रक्ताम्मे छन् । विकासको नाउँमा । डोजरहरू पठाएर रक्ताम्मे पारेका छौँ । त्यसको मर्मत कसले गर्ने हो थाहा छैन ।
यसरी हामीले वातावरण प्रदूषित गर्दै जाने, जीविकाहरू नाश हुँदै जाने र देशबाट विस्थापित भएर परदेश जानुपर्ने ठाउँमा हामीले धकेलेका छौँ । हाम्रा पब्लिक स्पेश घटेर गएका छन् । हाम्रा धेरै सार्वजनिक स्थलहरू सरकारीकरण भएको छ । सरकारी सम्पत्ति भन्नु र सार्वजनिक सम्पत्ति भन्नु एउटै होइन । चुरेको संरक्षण नगरेकाले हाम्रो मधेस मरुभूमिको प्रक्रियामा जाँदैछ । हाम्रा इन्भायरोमेण्टल रङको लागत लिने बेला भयो । हिसाब लिने बेला भयो ।
मेलम्चीमा डेभलपिङ रङ, डेभलपिङ मिस्टेकको कारणले जति पैसा खन्याए पनि पानी नआउने भएको छ । त्यसको हिसाब लिने की नलिने । त्यसलाई कारबाही गर्ने की नगर्ने ? त्यसको निर्णयकर्तालाई ठेगान लगाउने की नलगाउने ? आजको दिनमा सम्झिनुपर्ने धेरै छ ।’
उनले नेपाल वातावरणीय न्यायमा अहिले जलवायु न्यायको चरणमा प्रवेश गरेको बताए । उनले हिमालहरू कालो भइरहेको भन्दै सरकार प्रमुखहरूले जलवायु न्यायको सन्दर्भमा कुरा उठाउँदा हिमाली सभ्यता नष्ट भइरहेकोबारेमा कुरा उठाउन आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तनका असर कम गर्न नसके यार्सागुम्बा लोप हुने बताए ।








