वैकल्पिक खेलाडी को ?

विश्वकप खेल्ने नेपाली टिममा अझै सन्दीपको पर्खाइ, भिसा लाग्ने क्यानको विश्वास

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्यो । तर जुन १ देखि हुने ट्वान्टी-२० विश्वकपअघि दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल सुखद रहेन ।

अमेरिकाको ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो । नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाएपनि ठूलो स्कोर भने बनाउन सकेनन् । मध्य र तल्लोक्रमले भने बिर्सनलायक प्रदर्शन गरे ।

नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी-२० विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा सहभागी २० राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दुई/दुईवटा ‘वार्म-अप’ खेल दिएकोमा नेपालको भागमा क्यानडा र आयोजक अमेरिका परेको हो ।

अझै सन्दीपको पर्खाइ
नियमानुसार नेपाल क्रिकेट संघ (क्यान)ले ३ दिनअगाडि मे २५ तारिख (जेठ १२ गते) १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो । तर लेगस्पिनर सन्दीप लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम भएको सूची मात्र बुझाएको छ ।

अमेरिकाले यसअघि सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यान पदाधिकारीहरू उनलाई भिसा दिलाउन पुनः प्रयासरत छन् । त्यसका लागि पदाधिकारीहरूले नेपाल सरकारमार्फत् प्रयत्न गरिरहेका छन् । ‘आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ जना खेलाडीको नाम मात्र बुझाएका छौँ,’ क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भने, ‘आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ ।’

अब केही दिनभित्रै सन्दीप लामिछानेले भिसा पाए उनको नाम टोलीमा समावेश गरिनेछ । त्यसो हुँदा टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा पर्ने छन् । वैकल्पिकमा पर्ने खेलाडी भने विश्वकपभरि टीममै रहने बताइएको छ । यदि भिसा नलागेमा हाल टीममा रहेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्नेछ । यो टोलीका सदस्यहरू विश्वकपमा छनोट भएदेखि नै लगातार सँगै अभ्यासमा छन् ।

वैकल्पिक खेलाडी को ?
हाल अमेरिकामा रहेका १५ मध्ये १४ खेलाडीको मात्र नाम क्यानले बुझायो । तर कसको नाम बुझाएन, त्यो भने उसले सार्वजनिक गरेको छैन ।

क्यानको योजनाअनुसार लामिछानेको भिसा लागेमा मात्र अर्का खेलाडीको नाम थाहा हुने छ । छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भने, ‘सन्दीपको भिसा लागेमा मात्र वैकल्पिक खेलाडीबारे थाहा दिने हाम्रो योजना हो । पहिले नै वैकल्पिक खेलाडी भनेर कुनै खेलाडीको किन मन दुखाउने ?’ टीममा लेगस्पिनर सन्दीप लामिछानले स्थान पाएमा बलरमध्येबाटै कुनै एक खेलाडी वैकल्पिकमा पर्न सक्ने कतिपयको अनुमान छ ।

नेपालले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशाला जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी-२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *