अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं । टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो । नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाए । दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए । कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कप्तान रोहित पौडेल तीन बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा सन्दीप जोराले १० बलको सामना गर्दै ६ रन बनाए । गुल्शन झा चार बलको सामना गर्दै शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५/५ रन बनाउँदा अविनाश बोहोरा एक बलको सामना गर्दै शून्यमा आउट भएका थिए ।

नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए । उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो । साद बिन जाफर र जेरेमी गोर्डनले समान दुईदुई विकेट लिँदा कलिम साना र परगत सिंहले एकएक विकेट लिएका थिए ।

यसअघि क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए । उनले ३९ बलमा ५२ रन बनाए। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३-१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *