सहकारी प्रकरण

बालुवाटार बैठक निष्कर्ष विहीन, साँझ फेरि बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन बनेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्ष्कमल दाहालसहित सत्ता र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । तर आजको बैठकमा छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद् जीवन परियारले बैठकपछि सञ्चारकर्मीहरुसँग बताए ।

‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने ।

त्यस्तै सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका नामका विषयले कार्यदेशमा सहमति हुन सकिरहेको छैन ।

सत्तापक्षले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्न नहुने अडान कायमै राख्दै आइरहेको छ भने प्रतिपक्षी कांग्रेसले गृहमन्त्रीको नाम किटान नगरी संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान कायम राख्दै आइरहेको हो ।

आजको बैठकमा पनि सो विषयमा छलफल भएको र आ–आफ्नो अडानका कारण सहमति हुन नसकेको उनले बताए ।

‘गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ । नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो। नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ, नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ,’ उनले भने ।

आजको बैठकमा सहमति हुन नसकेपछि कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्दैछ । दिउँसो १ बजेका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बोलाइएको छ । उक्त बैठकपछि पुनः साँझ बस्ने सल्लाह भएको परियारले जानकारी दिए ।

बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु समेत रहेका थिए । यसअघि शीर्ष नेताहरुबीच पनि छलफल भए पनि निष्कर्ष निस्किन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *