बन्दुक र तरबाखुकुरीसहितको समूहबाट गाउँ नै लुटियो

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

“गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उनले भने । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताए । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो ।

मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताए । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो ।

मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *