नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछि हट्नुपर्छ : योगेशकुमार भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई सुचारु बनाउन नेपाली काँग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस जस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद अवरुद्ध गर्न नहुने बताए ।
उनले सरकारलाई जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताए । सचिव भट्टराईले सरकार नेपाली काँग्रेससँग सहमतिको लागि निरन्तर प्रयास गरिरहेको भन्दै १५ गते बजेट पेश अघिसम्म सहमति गर्ने बताए ।
उनले काँग्रेस सहमतिमा नआए पनि सवैधानिक व्यवस्था भएकाले संसदमा बजेट पेश हुने बताए ।
उनले सहमति नभए पनि बजेट पेश गर्ने कुरामा काँग्रेसले अवरोध नगर्ने अपेक्षा रहेको बताए । उनले काँग्रेसले निरन्तर संसद अवरोध गर्दा बाहिर नकारात्मक सन्देश जाने अवस्थाको सिर्जना भएको बताए ।
उनले संवैधानिक व्यवस्था अनुसार आईतवार प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षको अवरोध हुँदैहुँदै पनि नीति तथा कार्यक्रम संसदबाट पास गर्न बाध्य भएको बताए ।








