अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक विस्तार तीव्र

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार वि.सं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीव्र रूपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ ।

उनले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिए । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका थिए । दासले भने, ‘हाल कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन ।’ अब मनसुन सुरु हुने भएकाले खोला तथा बाढीले प्रभावित बनाउन सक्ने चुनौती रहेको उनले बताए । उनका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमति अनुसार काम भइरहेको छ ।

आयोजनाको सिनियर डिभिजन ल इन्जिनियर राधिका प्रजापतिका अनुसार साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । वि.सं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो ।

सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड सात दशमलव पाँच किमी छ । उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन भएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन वटा पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने छ । पुल निर्माण गर्न प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको हो । अनुमानित लागत ९० करोड रहेको कार्यालयले जनाएको छ ।

हाल कोटेश्वरबाट लामा दूरीका सवारी दैनिक यही सडक भएर एक हजारभन्दा बढी छुट्ने गरेका छन् । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै सवारी काठमाडौँ–पूर्वी तराई जान्छन् भने उत्तरी नाका तातोपानी पुग्न यही सडक प्रयोग हुन्छ । केही महिनाअघि चीनसँगको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भएपछि राजमार्गमा सवारी चाप बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *