कार्यदलमा आज बन्ला त सहमति ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने गरी बोलाइएको हो ।

समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन । यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ-आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *