सन्दीपलाई विश्वकप खेलाउन खेलकुद मन्त्रालयले थाल्यो पहल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकपमा पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल सुरु गरेको छ ।

अमेरिकी राजदूतावासले भिसा दिन अस्वीकार गरेपछि युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले यसबारे चासो लिएका हुन् ।

मन्त्री श्रेष्ठले क्यानका सचिव पारस खड्कासँग कुराकानी गरे पश्चात् परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएका छन् ।

हिजो मात्रै लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको जानकारी गराएका थिए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि पनि सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने बेलामा सन्दीपलाई सुरुमा भिसा दिएको थिएन पछि आलोचना धेरै भएपछि दूतावासले सन्दीपलाई प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।

यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो । आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए । तर, अमेरिकाले भिसा नदिँदा सन्दीपले विश्वकप गुमाउने आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *