प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र– गृहमन्त्रीमाथि तत्काल मुद्दा चलाउनुस्

काठमाडौं । सम्पादकहरूको एक समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र लेख्दै गृहमन्त्री रवि लामिछानेमाथि तत्काल मुद्दा चलाउन सुझाएका छन् ।

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका ३२ जना सम्पादकहरूले प्रधानमन्त्रीलाई ५ बुँदे पत्र लेख्दै यस्तो बताएका हुन् ।

उनीहरूले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएकोमा आपत्ति समेत जनाएका छन् । सिरोहियालाई नागरिकता कसुरको आरोप लगाएर कार्यालयबाटै पक्राउ गरिनुले गम्भीर प्रश्न उठाएको सम्पादकहरूले स्मरण गराएका छन् ।

सम्पादकहरूले रवि लामिछाने पहिलो पटक गृहमन्त्री बन्दा नेपालका नागरिक नै नभएको जिकिर गरेका छन् ।

गृहमन्त्री लामिछाने अहिले मिडियामाथि शत्रुभावका साथ जाइलागेका दाबी पनि उनीहरूले गरेका छन् । उनीहरूले सहकारी ठगीको समस्या विकराल बनेको पनि प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।

यस्तो छ प्रधानमन्त्रीलाई सम्पादकहरूले लेखेको संयुक्त पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ’मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *