डडेल्धुरामा स्थानीय उत्पादन बेच्न ६ घण्टा ‘पैदलयात्रा’

वेदकोट (कञ्चनपुर) । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिए ।

उनी डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उनी महेन्द्रनगर झरेका हुन् । उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उनको योजना छ ।

‘कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किँदै छु’, उनी भन्छन्, ‘गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।’ उनले कुलुम प्रतिकिलोग्राम ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिए ।

यस्तै अम्रिसोबाट तयार गरिएको झाडु ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताए । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।

खानेपानी, विद्युत्, यातायातको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताए ।

‘गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ,’ उनले भने, ‘सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।’

परशुराम नगरपालिकाको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउछन् । उनी जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्ध भत्ता बुझ्ने गर्छन् ।

‘गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ । अभावै अभावमा जीवन गुजार्‍यौँ । अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्’, उनले आग्रह गर्दै भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *