सभामुखको कुर्सीमा एमालेको कार्यकर्ता देख्यौँ : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रश्तुत भएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भुमिका निर्वाह नगरेको बताएका हुन् ।

उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गरे ।

उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गरे ।

उनले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भुमिकाप्रति प्रश्न उठेको बताए ।
उनले भने– ‘आज हामीले सभामुख देखेनौँ । कुर्सिमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको । अर्को कुरा मर्यादापालक कहाँ बस्ने हो ? मर्यादापालकले सभामुखलाई रक्षा गर्ने हो कि ? सांसदलाई रक्षा गर्ने हो ? वा सत्तापक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो ? हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडी फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ । तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिन्ह खडा भएको छ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ? प्रधानमन्त्रीले विश्वासको मत लिन अझै २२ दिन बाँकी छ नि त । विश्वासको मत भोलि, पर्सि लिएको भएपनि हुन्छ । सभामुखले निष्पक्षताको भुमिका खेल्नु भएन । अहिले हाम्रो प्रतिपक्ष दलहरुको बैठक पनि भर्खरै सकिएको छ । हामी सबैको निर्णय के छ भने, सभामुख सभामुख जस्तो रहनु भएन ।’

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भुमिका सभाभुखको जस्तो नभएको रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *