सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गरेका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइरहनुभएको र विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत नेकपा एमालेलाई आग्रह गरे ।
उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभइ मन्त्रीमण्डलमा सहभागी भइ सहकार्य गर्नका लागि आह्वान गरे ।
‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रिय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूचि छ’ उनले भने, ‘सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछाँै भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ ।’
उनले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताए । उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पारे ।
आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताए । उनले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताए ।
‘पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ’ उनले भने, ‘मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लागोस् । यो सरकारको भलो चाहन्छौँ । ’
अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) फुटाउन सहज नरहेको बताए । सबै सांसदहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेको बताए ।
अध्यक्ष नेपालले समाजवादी मोर्चा कसरी अघि बढ्छ भन्नेबारेमा यसै भन्न सकिने अवस्था नरहेको जिकिर गरे ।
समाजवादी मोर्चामा जनता समाजवादी पार्टी, नेपाल विभाजित भइसकेपछि संकट निम्तिएको बताए ।