नीति तथा कार्यक्रम र १६औँ पञ्चवर्षीय योजना पारित
काठमाडौं । सरकारले १६औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको उनको भनाई छ ।
प्रवक्ता शर्माले भनिन्, ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा संघीय संसद्को संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ । आर्थिक वर्ष अगावै १६ औँ पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’
सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । संसद् अवरोध गरिरहेको नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्न दिने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।