सयको नोटमा नयाँ नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय विरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो रु भन्दै प्रश्न गरे ।

उनले यस विषयमा राष्ट्रपति पौडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरे । उनले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरीत बोल्नुभएको आरोप समेत लगाए । उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरीत बोल्ने व्यक्तिहरू किन राखेको भन्दै आपत्ति जनाए ।

उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्सा राख्नुपर्ने पनि बताए । नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरू राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताए । उनले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताए ।

उनले भने ‘एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलबाडपूर्ण ढंगका अभिव्यक्तिहरू आएका छन् । नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्छ भन्ने एउटा खबर आयो । तपाईँहरूले पनि सुन्नुभयो होला । नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर । कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्यूले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ ।

यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार नेपाल देशले नेपालको नक्सा नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, राष्ट्रियता कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरू उफ्रिन्छ भने यो तमासा होइन । त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ? यो प्रश्न हामी संसदमा गम्भीरताका साथ उठाउँछाँै । प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ की राष्ट्रपति आफैँले जवाफ दिनुहुन्छ की सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ की के गर्नुहुन्छ ? यो साधारण कुरा होइन, हामी यसलाई गम्भीरताका साथ लिन्छौँ ।

नेपाल सरकारले आफ्नो गुमको भूभाग समेटेर नक्सा छाप्यो, त्यसलाई संविधानको अंग बनायो, त्यो नक्सा हाम्रो हो, नेपालको नोट हाम्रो नोट हो, हामीले धरौटी धितो राखेर छाप्छौँ, अनधिकृत कागजको खोस्टो होइन । हामीले हात्ती, गैँडा राखेका छौँ । घोरल, मयुर, डाँफे, गाई राख्छौँ । अरु पनि राख्न मन लाग्यो भने राख्छौँ । नेपालको नक्सा किन राख्दैनौँ । पहिला पहिला राजा, महाराजाका पनि राख्थ्यौँ । अहिले राजाहरू हटे, नक्सा राख्नुपरेको छ । हरेक नेपालको नोटमा र हरेक सिक्का अनिवार्य राख्ने गर्नुपर्छ ।

नेपालको नक्सा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौँ । नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरू राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछौँ ? । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो । आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहन्छाँै ।’

अध्यक्ष ओलीले नेकपा एमालेले गम्भीर रुपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *