राष्ट्रियताको विषयलाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् । उनले विभिन्न व्यक्तिहरूले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरूको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे ।

उनले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए । उनले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरूसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताए ।

उनले भने ‘अहिले हाम्रो राष्ट्रिय सुरक्षाको विषय, राष्ट्रियताको विषय कमजोर भएको देखिन्छ । यसको विभिन्न ठाउँमा भएका अभिव्यक्तिलाई हेर्दा बैंकको किस्ता तिर्न नसक्दा पनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । बच्चाहरूको फि तिर्न नसक्दापनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । यदि फलानो देशले लिएको खण्डमा त हामीले सस्तोमा गाडी चढ्न पाइन्थ्यो भन्ने किसिमको समेत अभिव्यक्तिहरू आउन थालेको छ । कस्तो व्यवस्था गर्दाखेरि त्यस्तो अभिव्यक्तिहरू आउन छोड्छन् ? आफ्नो मौलिकता, संस्कृति, परम्परामाथि प्रहार गर्ने । आफूले मान्दै आएका चिजहरूलाई, आफ्नो इच्छाहरू पुरा नहुँदाखेरी लल्कार्ने ।

यी विषयहरूलाई कुन तरिकाले जाँदाखेरि राम्रो हुनसक्छ र आफ्नो मौलिकता रहन्छ ? भन्ने विषयमा समितिले पनि निर्देश गरोस् । हाम्रो जस्तो मुलुक गरिब हुनु आठौँ आश्चर्य हो । देशको सम्पदाहरूको महत्वलाई नबुझ्ने अनि राष्ट्रियतालाई लर्कार्ने । अनि देश फलानोले लिए सस्तोमा गाडी चढ्न पाइन्थ्यो भनेर प्रचारबाजी गर्नेहरूको पछि लागेर तालि बजाउने । राष्ट्रिय सुरक्षाको नीति तय ग¥यो भने हाम्रो देश विकास हुनलाई दश वर्षमा यो मुलुक धनी बन्छ । राष्ट्रियताको विषय सस्तो विषय होइन भनेर हामीले लिएर जानुपर्छ । राष्ट्रिय सुरक्षाको विषय आज पहिलाको इतिहासमा जस्तो घोडामा तरबार लिएर घुमाएर बोर्डरमा हिँड्ने मात्रै होइन । आज वातावरणसँग, भोकमरीसँग सम्बन्धित सबै कुराहरूमा अगाडी बढ्नु अपरिहार्य जस्तो देखिएको छ । सुरक्षाको सवालमा होल अफ द फेशनको अवधारणाले मात्रै काम गर्दछ ।’

उनले देशको सम्पदाको महत्वलाई बुझ्नुपर्ने बताए । प्राकृतिक स्रोत सम्पदाहरूले धनी भएर पनि नेपाल गरिब हुनु आठौँ आश्चर्य भएको उहाँले टिप्पणी गरे । उनले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश दश वर्षमा धनी बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *