सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

संसद्को आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

सभामुख घिमिरेद्वारा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि रहेका छन् ।

त्यस्तै बैठकमा उपसभामुख इन्दिरा रानासहित कानुनमन्त्री पदम गिरी तथा बैठकमा उपस्थित राजनीतिक दलका प्रमुख सचेतकहरु समेतको उपस्थिती रहेको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनमा निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन् ।

सभामुख घिमिरले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर सहमति प्रयास सार्थक हुन सकेको थिएन ।

संसदको बर्खे अधिवेशन आगामी वैशाख २८ गतेदेखि सुरु हुँदैछ । संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरुसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग–अलग भेट गरिरहेका छन् ।

यसअघि पनि संसदको गतिरोध अन्त्य गर्दै संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन सभामुखले प्रमुख दलका शीर्ष नेताहरुसँग निरन्तर छलफल गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *