रविलाई सीकेको आग्रह- ८४ मा दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् ।

इलाम-२ मा जनमत पार्टीले ११८ अर्थात् ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ । उनले भने, ‘इलामको मत परिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन ।’

अगामी दिनमा झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने दाबी गर्दै उनले भने, ‘फेरि गठबन्धनकै सरकार बनिरहने छन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई-महिनामा ढली रहने छन्, गठबन्धनको बैठकमा भागबन्डाको विषयले मात्रै प्रवेश पाइ राख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भई राख्ने छन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परि राख्ने छन् ।’

जनमत पार्टीका अध्यक्ष राउतले इलाम र बझाङको चुनावबाट जनताले पनि पुनर्विचार गर्नु जरुरी रहेको उल्लेख गरेका छन् । ‘मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’ उनले भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो ।’

उनले रास्वपालाई भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *