गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म सदन चल्न दिन्नौँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् ।

मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्रीमाथि छानबिन आवश्यक रहेको बताए ।

उनले सुशासन सिकाउने पार्टी र उक्त पार्टीका सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न समेत गरे ।

‘सुशासन सिकाउने पार्टी र उक्त पार्टीका सभापति सहकारी ठगीमा छन्’ उनले भने, ‘गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न दिन्नौँ ।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए । उनले कांग्रेस बाहेक अरु कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे । उनले पहिचान चाहनेहरूले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ’,उनले भने,‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईँ सबैलाई थाहा नै छ ।’

उनले अन्य दलहरू आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिँडेका उल्लेख गरे ।

यस्तै नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

चुलाचुलीमा काँग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यालय र नापी कार्यालय चुलाचुली आउने भन्दै उनले चुलाचुली वार्ड नं–६ को साक्फारा सडक र सदरमुकाम जोड्ने चुलाचुली–महमाई सडक निर्माण कार्य काँग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिबद्धता गरे ।

उनले भने–‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनोस् इलाम –२ को विकासको जिम्मा म लिन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *