संविधानको आशय अनुसार नेतृत्वले व्यवहार नगर्दा समस्या भयो : सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टीकाटिप्पणी हुने गरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरू मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे । उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए ।

उनले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए । दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उनले नेतृत्व मठाधीशको रुपमा प्रस्तुत हुने गरेका बताए । उनले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग नगरेसम्म दलिए व्यवस्था सुदृढ हुन नसक्ने बताए ।

उनले भने ‘संविधानमात्रै भएर हुँदो रहेनछ । त्यो संविधान कार्यान्वयन गर्ने शैलीमा समस्या भयो भने लोकतन्त्र कमजोर हुँदो रहेछ । संविधानको आशय के हो ? संविधानले कुनैपनि मठाधीशको परिकल्पना गरेको छैन । संविधानले कुनैपनि निरंकुश शासकको परिकल्पना गरेको छैन । सामन्तीको परिकल्पना गरेको छैन । संविधानले त जनताका प्रतिनिधिलाई सेवक भनेको छ । तर आज हाम्रो नेतृत्वको व्यवहार सामन्तीको भन्दा कहाँनिर फरक छ ? हाम्रो नेतृत्वको व्यवहार निरंकुश शासक या राजतन्त्रभन्दा कहाँनिर फरक छ ? संविधानमा भएको आशय अनुसार नेतृत्वले व्यवहार गर्न नसकेको कारणले समस्या भएको हो । ’

उनले लोकतन्त्रलाई विधिको शासनको रुपमा महसुस गराउन र कानुनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *