जेठ १ गतेदेखि व्यास नगरभित्र प्लास्टिक झोला निषेध

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको हो ।

नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गरे । उनले भने, ‘प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरू प्रयोग गर्न प्रोत्साहन गरेका छौँ ।’

व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गरे । उनले भने, ‘हामीले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान धेरै पहिलादेखि लागू गर्न खोजेका हौँ, तर सफल हुन सकेको छैन । अब कडाइका साथ लाग्छाँै ।’

विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग
हुनेहुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ । प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्रीवितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिए । बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी जेठ मसान्तसम्म नगर शिक्षा ऐन नियमअनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार नगरपालिकाभित्रका केही विद्यालयमा अत्यन्त न्यून विद्यार्थी भएकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्नेगरी दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

यसैगरी नगरपालिकाअन्तर्गत वडा नं ११, १०, ९, ७ मा रहेको परासर मार्ग (घाँसीकुवा–फराकचौर–अधेरीभञ्ज्याङ–माझफाँट, नरङ्गा कलेस्ती) को १०.५ किलोमिटर विश्व बैंकको सहयोगमा निर्माण हुने मार्गको टेन्डर प्रक्रिया पूरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित आयोजनाका परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाको बाँकी रहेका करिब २२ करोड रकमलाई अर्को प्राथमिकताका योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।

नगरपालिकाको फोहर व्यवस्थापन एवं वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ कृष्णप्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगति विवरण, सुझाव बैठकमा पेस भएको र वैशाख १५ गतेदेखि वडामा फोहर वर्गीकरण अभियान प्रारम्भ गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *