‘लू’सँग लड्न सरकारसँग छैन रणनीति (भिडिओ)

काठमाडौं । विज्ञहरूले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् ।

हिट वेभलाई ख्यालख्याल नठानौं
यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताए । ‘जल तथा मौसम विज्ञान विभागले हिजो लूको अवस्था घोषणा गरेको छ । त्यो एक खालको यस्तो अवस्था आयो है भनेर साइन्स बोलेको अवस्था हो । तर के गर्न बाँकी छ भने अब हिट एक्शन प्लान । राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? सहर, गाउँ, हाम्रो टोल, रोजगारीको क्षेत्रमा केके गर्ने भन्ने स्ट्याण्डर अप्रेटिङ प्रोसेस हुन्छ, त्यो बनेको छैन,’ उनले भने, ‘हिटले ल्याउने सिधा असर मानव स्वास्थ्यमा, पशु, वनस्पति र वन सम्पदामा असर पर्छ । मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्शन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ । हाम्रोमा भने त्यो गाइडलाइन देखिएन, बनाइएको छैन । गाइडलाइन बनाउन जरुरी छ ।’

तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने उनले चेतावनी छ । ‘आज हामी ४३ डिग्री तापक्रममा छौँ । ४५ वा सो भन्दा बढी तापक्रम दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्ट तिर जान्छ । ४७ डिग्री भन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था हुन्छ । भारतका धेरै जसो भूभागमा गत साल ४७ डिग्री नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ,’ उनले भने, ‘नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्री भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रुपमा पनि लैजानुपर्छ ।’

औसत भन्दा बढी गर्मी/बढी वर्षा हुने
यस वर्ष नेपालमा औसत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको बताए । यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रुपमा बुझ्न नहुने उनको भनाई छ ।

उनले लामो समय देखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको उनले बताए । उनले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्री रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्री पुगेको बताए । विश्वतापमानमा वृद्धि हुनु, समुन्द्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरु आकर्षित भएको बताए । उनले लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको जलवायु परिवर्तनको असर भएको बताए । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औसत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत छ ।

नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने
विज्ञ उप्रेतीकाअनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा लू रहनेछ । पश्चिमी वायु सक्रिय भई पानी परेको अवस्थामा भने लू बाहिरिने बताए । उनले आगामी शुक्रवारदेखि हल्का वर्षा हुने सम्भावना भएकाले तातो हावालाई विस्थापित गरी चिसो हुने अवस्था रहेको बताए । अहिले वायुमण्डलीय चाप उच्च रहेको उनले बताए । वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने उनले बताए । उनकाअनुसार तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहनेछ ।

के हुन् लू का लक्षण ?
गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लू लागेको लक्षणहरू हुन् । लू ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तीव्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । केही मानिसहरूमा लू का कारण छिटो छिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षणहरू देखा पर्दछन् ।

गर्मीबाट बच्न के गर्ने/के नगर्ने ? विज्ञ उप्रेतीका सुझाव:

  • घरमै बस्ने ।
  • बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।
  • मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरी हिँडडुल कम गर्ने, गर्नैपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।
  • गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।
  • गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।
  • स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।
  • खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।
  • प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तै: दूध, माछा मासु आदि ।
  • सरकारले के गर्नुपर्छ ?
  • सरकारले भएका अस्पतालहरूको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ ।
  • स्थानीय सरकार (७५३ वटै पालिकाहरू) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरूलाई शतर्क रहन आग्रह गर्नुपर्छ ।
  • क्षेत्रीय अस्पतालहरू पनि सक्रिय बनाउनुपर्छ ।
  • तीन तहकै स्वास्थ्य केन्द्रहरूले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।
  • पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।
  • स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

लू बाट बच्ने घरेलु उपाय:

  • घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।
  • घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लू बाट बच्न सकिन्छ ।
  • घरबाट बाहिर निस्कनु प¥यो भने चिसो पानी र चिसो सर्बत पिएर मात्रै निस्किने बानी बसालौँ ।
  • गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।
  • गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।
  • पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ ।
  • गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ ।
  • गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *