रेलिङमा ठोक्किएर बाइक पल्टिँदा पत्रकार यादवको मृत्यु

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिलिला नगरपालिका-६ मा यादव आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२-००६ प ३०३५ नम्बरको मोटरसाइकल जनकपुर-ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका यावदको उपचारकै क्रममा बिहान पौने ६ बजे मृत्यु भएको हो ।

२८ वर्षीय यादवको घर धनुषाकै धनुषाधाम नगरपालिका-५ मा पर्छ । उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे । उनले एक वर्षअघि मात्रै विवाह गरेका थिए । उनी जनकपुरबाट सञ्चालन हुँदै आएको ई-न्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक थिए । दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम-५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते छन् । उनी मोटरसाइकलको पछाडि थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यादवको शव शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *