वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्र खानाको व्यवस्था गर्न आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबिच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

‘मुलुक भित्रै अवसरमा नपाएर युवाहरू बिदेसिन्छन् । बिदेसिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौ,’उनले भने, ‘कम्तीमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरू पनि सकारात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

“यस विषयमा हामीहरू पनि गम्भीर छौँ । एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरू भोकै रहनुपर्ने अवस्था आएको हो,” उनले भने । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य रूपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाइदिनुपर्ने उनले बताए ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका विषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *