बगरखेतीबाटै मनग्य कमाउँछन् बलरामपुरका स्थानीय

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक छिन् लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकी छन् । बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउछिन् । त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी छिन् ।

‘बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ’, चौधरीले भनिन् । विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आम्दानी गरिरहेको बताउछिन् । उनीकाअनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

‘बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्‍यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन’, चौधरीको भनाई छ, ‘बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ ।’

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उनीले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताइन् ।

उनी भन्छिन्, ‘खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरूकहाँ ज्याला मजदू्री गरेर जीविको चलाउने दिन पनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ ।’ लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउछिन् ।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ ।

लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उनीहरू नै बताउछन् । राप्ती नदी आसपासका यी तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरुमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उपलब्ध गराउँदै आएको थियो ।

लमही नगरपालिकाको कृषि शाखाकी गङगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिइन् । गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुराउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाई छ ।

‘प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुख्खाबढी हुन्छ । तर नजिकै बोरिङ छैन । हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । त्यसैले सरकारले यी समस्या समाधान गरिदिए अझबढी मेहनत गथ्र्यौँं’, उनीहरूले एकस्वर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *