एसीसी प्रिमियर कप : रित्तो हात स्वदेश फर्किँदै नेपाल

काठमाडौँ । हङकङसँग हारसँगै नेपालले एसीसी ट्वान्टी-२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रा टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।

समूह चरणको लगातार चार खेल जितेर सेमिफाइनल पुगेको नेपाल लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो दिन सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको थियो ।

हङकङलाई जितेको भए तेस्रो स्थान हात पार्दै नोभेम्बरमा हुने भनिएको एसीसी इमर्जिङ कपका लागि छनोट हुने थियो । नेपालको त्यो सम्भावना पनि समाप्त भएको छ ।

इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् ।

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा युएई शुक्रबार बाधक बनेको थियो । प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *