नाटकीय खेलमा पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए । ५३ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्माले नटआउट ३४ रन जोडे । टिम डेबिड १४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डेय १० रनमा समेटिए । मुम्बईको इनिङ कमजोर पार्न पञ्जाबका लागि हर्षल पट्टेलले ३१ रन खर्चिएर तीन विकेट लिए । श्याम कुरानले दुई विकेट लिएको खेलमा कासिगो रबडाले एक विकेट हात पारे ।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाउँदा शशांक सिंहले ४१ रन जोडे । हरप्रित बरारले २१ रन जोड्दा हरप्रीत सिंहले १३ रन मात्र जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोटेजले तीन/तीन विकेट हात पारे। आकाश माधवा, हार्दिक पाण्डेया र श्रीयस गोपालले एकएक विकेट लिए ।

यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ । समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ । आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *