एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ ।

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित दर्ता गरेको हो ।

साउदीले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर ७५ रन बनायो ।

नेपालका गुल्शनकुमार झाले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । १९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १६ रनमा अविजित रहे । यससंगै नेपालले समूह बी मा शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोड्यो ।

साउदीका इश्तियाक अहमदले सर्वाधिक २ विकेट लिए । उस्मान नजिब र वाजी उल हसनको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि समुह चरणको अन्तिम खेलमा साउदीले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।

नेपाल यसअघि नै समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको थियो ।

नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *