खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउँछन् : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् ।

मंगलवार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर र समस्या चुनौती विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताए ।

उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए । उनले २०२१ मा विभिन्न रुपमा छलफल भएपनि कोभिड आएपछि थप समस्या भएको बताए । निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गरे ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रवर्द्धक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताए । उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने शेयर दिने पक्षमा रहेको बताए । उनले वैदेशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिबद्धता जनाए ।

उनले भने ‘खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने हो । सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबैमा छलफल भइरहेका थिए । कोभिड आएपछि समस्या भयो । अहिले हामी धेरै प्रयास गरिरहेका छौं । त्यसमा उहाँहरुले अझ बेटर अप्सनहरू दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔँ । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने भन्ने शेयर म पनि त्यसकै पक्षमा छु । त्यो शेयर आउँछ । वैदेशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि त्यो आउँछ भन्ने लाग्छ । तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको छ । तामाकोशी ५ पहिला देखि विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरण मार्फत अघि बढेको छ । त्यसमा तामाकोशीको जति पनि शेयर राख्नसक्ने भनेर पत्राचार गरिएको छ । तामाकोशीको शेयर कति राख्ने छलफलमा छौं । तामाकोशी ५ मा विद्युत प्राधिकरणले खर्च गरिरहेको छ । त्यसमा १० प्रतिशत दोलखाले पाउने शेयर निश्चित रुपमा पाउँछन् । प्रशारणलाइनको विषयमा केही असमतिहरु छन् । त्यसलाई पनि दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफलमा नै छौं । दोलखालाई पुग्ने प्रसारण लाइन बन्दैछ ।’

उनले विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको बताए । उनले तामाकोशी ५ मा तामाकोशी जलविद्युत आयोजनाको शेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले तामाकोशी ५ जलविद्युत आयोजनाको १० प्रतिशत शेयर दोलखालाई दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *