अघोषित लोडसेडिङ्गले उद्योगीहरू थप मर्माहत भए : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरू थप मर्माहत भएको बताए । उनले एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताए ।

उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरे । उनले विद्युत् प्राधिकरणले अहिले विद्युत् आयात गर्दा महँगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत् उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए । उनले महँगो दरमा आयात गरेर भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गए । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको बताए ।

अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । उनले अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको बताए । चुनौती र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *