आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास

बैंगलुरु । आफ्नै कीर्तिमान तोड्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ इतिहास रचेको छ । सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध हैदराबादले आईपीएलकै अहिलेसम्मको सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो ।

टी–२० खेलहरूमा बनेको यो दोस्रो उच्च स्कोर पनि हो । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान नेपालको नाममा रहेको छ । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

हैदराबादको कीर्तिमानी इनिङ्समा ट्राभिस हेडले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै ४१ बलमा १ सय २ रन बनाए । उनले यस क्रममा ९ चौका र ८ छक्का प्रहार गरे ।  त्यस्तै, हेनरिच क्लासेनले ३१ बलमा ६७ रन बनाए । उनले २ चौका र ७ छक्का हिर्काए । यसअघि ओपनर अभिषेक शर्माले २२ बलमा ३४ रनको योगदान दिएका थिए ।

खेलको अन्त्यतिर अब्दुल समादले १० बलमा ३७ रन तथा ऐडन मार्क्रमले १७ बलमा ३२ रन बनाउँदै टोलीलाई कीर्तिमानी स्कोरसम्म पुर्‍याए । हैदराबादका ब्याट्सम्यान सामु बैंगलुरुका बलरहरू निरीह देखिए । लोकी फर्गुसनले २ तथा रिस टोपलीले १ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *