काठमाडौँको हरेक वडामा कोसेली घर बनाइने : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाले उद्यमशील महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यावसायिक सिकाई जस्ता रोजगारमूलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमुना उद्यमशीलता,आफ्नै सीपमा मौलिक पन, आत्मनिर्भर उद्यमी, हाम्रै लगानी, हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो ।

महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशील बन्न चाहने महिला तथा पुरुषहरूको लागि उद्यमशील तालिम कार्यक्रम सुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरूमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशील तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

उद्यमशीलता प्रवर्द्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौं महानगरले हरेक वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगर पालिकाले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरूलाई बजारको प्रवर्द्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशील तालिमको योजना बनाउने भनी गरेका प्रतिवद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमूलक तालिमसहित प्रविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरूलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । उपप्रमुख डंगोलले उद्यमशील तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरू पनि जोडिन सक्ने जानकारी दिइन् । उनले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गरिन् ।

उनले भनिन् ‘३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरूको लागि मात्रै नभएर पुरुषहरूको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौं ।’

उपप्रमुख डंगोलले उद्यमशील तालिम लिने तर उद्यमीहरूले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशीलता हराउँदै गएको पाइएको बताइन् । उनले महानगरले उद्यमशीलतालाई थप प्रवर्द्धन गरी सीपमुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेरउनीहरुलाई उद्यमी बनाउने कार्यक्रम रहेको बताइन् ।

उनले भनिन् ‘विगतमा भएका सिप मुलुक तालिमहरूले धेरैले व्यवहारमा लागू नगर्ने गरेका छन् । त्यस्तो नहुनुमा सीप सिकेपछि बजारसँग जोड्न नसक्दा समस्या भएको रहेछ । त्यही सिकाइलाई मध्यनजर गरेर तालिम दिँदै छौं । तालिम दिएपछि उनीहरूलाई महानगरपालिकाले उद्यमी बनाउँदैछौं ।’

काठमाडौं महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरूमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरूसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशील तालिम दिनु ठूलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रुपमा उत्पादन गर्नु अहिलेको चुनौती रहेको दाबी गरिन् । उनले यस्ता चुनौतीलाई चिर्नको लागि महानगरले एक वडा एक नमुना उद्यमसिलत कार्यक्रमबाट धेरैले उपलब्धि लिने बताइन् ।

‘महानगरले विभिन्न स्टेक होल्डरहरूसँग समन्वय सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं । उद्यममा गर्ने लगानी देखि बजारसँग जोड्नेसम्म महानगरले विभिन्न निकायहरूसँग सहकार्य गरेर अघि बढ्ने उद्देश्य लिएका छौं ।’ उहाँले भन्नुभयो, ‘उद्यमशील तालिम गर्नु ठूलो कुरा होइन । गरेपछि त्यसलाई दिगो रुपमा कसरी प्रभावकारी बनाउने महत्वपूर्ण र ठूलो कुरा हो भने अहिलेको चुनौती पनि हो । चुनौतीलाई चिर्नको लागि हामीले ल्याएको कार्यक्रमहरूबाट धेरैले उपलब्धि र फाइदा लिन सकुन् भन्ने हो ।’

उनले काठमाडौंमा भएको सहरी गरिब अन्त्य गर्नको लागि पनि उद्यमशील तालिम अघि सारिएको बताइन् । उनले काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनि रहेकालाई उद्यमशीलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको दाबी गरिन् ।

महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशील तालिमको व्यवस्था गर्ने भएको छ । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमूलक उद्यमशील तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौँवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौँका विभिन्न वडामा बस्नेहरूले पनि आवेदन दिई उद्यमशील तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवेदन दिनेहरूको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरूमा फरक–फरक तालिमहरू दिन लागिएको बताइन् । उनले कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने, कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने बताइन् । उनले महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको बताइन् । उनले तालिम लिएका उद्यमीहरूलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एडभान्स लेभलको तालिम दिइरहेको बताइन् । उनले वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको बताइन् ।

उनले भनिन् ‘वडाहरूमा फरक–फरक तालिमहरू दिँदैछौं । कुनै वडामा गुन्द्रुक बनाउने,अर्को वडामा मस्यौरा बनाउने तालिम दिँदैछौं । कुनै वडामा माटोका भाडा बनाउने तालिम दिँदैछौ । वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएका थियौँ । अहिले प्रविधि हस्तान्तरण गरेर उहाँहरूलाई एडभान्स लेभलको तालिम दिँदैछौं ।’

उनले महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी रहेको बताइन् । उनले १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने बताइन् । उनले स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिइन् ।

काठमाडौं महानगर पालिकाले महानगर पालिकाभित्र रहेको सहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशील कार्यक्रमलाई अघि सारेको बताएको छ । काठमाडौं महानगरभित्र पनि सहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनि रहेका मानिसहरु बसोबास गर्ने गरेका छन् ।

खास गरी उनीहरूको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मूलक सीप तालिम सञ्चालन गर्न लागिएको उपप्रमुख डंगोलको भनाई छ । उनले काठमाडौं महानगरभित्र पनि गरिबी छ र रु भन्ने प्रश्न आउने गरेको बताइन् । उपप्रमुख डंगोलले महानगरभित्र पनि सहरी गरिबी रहेकाले उद्यम, सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उद्देश्यले बजेट मार्फत उद्यमशील तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गरिन् ।

‘काठमाडौंमा गरिबहरू हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौंमा छुट्टै खालका सहरी गरिबहरू पनि रहेका छन्’ उनले भनिन् ।

उनले सहरी गरिबलाई पनि मध्यनजरमा राखेर उद्यमशील तालिमहरू अघि सारेको बताइन् । उनले उद्यमशील तालिमको माध्यमबाट गरिबीको रेखामा रहेकाहरूको जीवनस्तरमा सुधार ल्याउने बताइन् । उनले गरिबीको रेखाबाट माथि उठ्ने गरी महानगरले उद्यमशील कार्यक्रमलाई व्यवस्थित र दिगोपन दिनेगरी अघि सारेको बताइन् ।

काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरू ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशीलतासँग जोडेर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ ।

हरेक वडामा कोसेली घर

महानगरले ३२ वडामा उद्यमशील तालिम दिएर प्रविधिमार्फत उत्पादन सुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिभर बनाउने उद्देश्य महानगरको छ । महानगरले दिएको सीपमूलक तालिममार्फत उत्पादन भएका वस्तुहरूलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाई छ ।

उपप्रमुख डंगोलले भनिन् ‘१६ वटा वडाबाट पाइलटिङ गर्दैछौं । वडा फरक–फरक ढङ्गको उत्पादन गरेपछि उहाँहरूसँग समन्वय गरेर हरेक वडामा कोसेली घरको अवधारणा अघि सारेका छौं । कोसेली घरमा त्यस्ता उत्पादनहरूलाई जोड्ने हो । त्यसरी काठमाडौं महानगर भित्र उत्पादन भएका वस्तुहरूको लागि बजार व्यवस्थापन गर्ने सोचेका छौं ।’

महानगरले दिएको उद्यमशील तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरू कोसेली घरमा मात्रै सीमित राख्ने भन्दा पनि काठमाडौं भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरूमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ ।

बिगमार्ट र सुपर मार्केटहरूमा ‘मेड इन काठमाण्डौं’को छुट्टै स्थान रहने

काठमाडौं महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखी नेपाली वस्तुहरूको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो । नेपाली उत्पादनहरूलाई नेपालीहरूले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उपप्रमुख डंगोलको भनाई छ ।

उनले महानगर भित्रका उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरूलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेस दिन आवश्यक रहेको बताइन् । उनले मार्ट तथा सुपर मार्केटहरूले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । उनले स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरू जोडिए मात्रै बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताइन् ।

उनले भनिन् ‘विभिन्न ठाउँमा रहेका मार्टहरूमा मेड इन नेपाल राख्नुपर्छ । किनकि हामीले हाम्रो उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिस्पर्धा गर्नको लागि पहिला मार्केटसँग लिङ्क गर्न सक्नुपर्छ । त्यसपछि मात्रै प्रतिस्पर्धा गर्न सकिन्छ ।’

उनले मार्ट तथा सुपर मार्केटहरूमा मेड इन नेपाल, मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरूलाई जोड्ने लक्ष्य महानगरको रहेको बताइन् । उनले त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको उल्लेख गरिन् । त्यस्तै, उपप्रमुख डंगोलले शनिवार वा अरु दिनहरूमा महानगरभित्रकै वडाको पेरिफेरिमा, सभागृह भित्र अथवा अन्य ठाउँहरूमा मेड इन काठमाडौं मेला गर्ने योजना बनाएको पनि बताइन् ।

उनले उद्यमीहरूले उद्यमशीलता तालिमपछि गरेको उत्पादनगुणस्तर परीक्षण गरी गुणस्तर कायम भए उद्योग स्थापना गर्ने स्थानीय सरकारको रुपमा उद्यमीहरूलाई सहयोग गर्ने बताइन् । उद्यमीहरूलाई महानगरले करमा छुट दिएर मेड इन काठमाडौं जस्ता मेला आयोजना गरेर उद्यमीहरूलाई बजारसँग जोड्ने लक्ष्य राखेको उनको भनाई छ ।

काठमाडौं महानगरको उद्यमशील तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना रहेको उल्लेख गरेको छ । महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरूलाई महानगरभित्र मात्रै सीमित नराख्ने जनाएको छ । महानगर उपप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउने बताइन् । उनले नेपालबाट धेरै बस्तुहरू विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरूसँग पनि छलफल गरिरहेको दाबी गरिन् ।

उनले भनिन् ‘यो महानगरपालिका भित्र मात्रै पनि सीमित हुँदैन । त्यस्ता वस्तुहरू देशभर जानसक्ने गुणस्तर बनाउन सकिन्छ । त्यस्तै,नेपालबाट धेरै वस्तुहरू विदेशमा निर्यात पनि भइरहेको छ । विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरूसँग पनि महानगरले छलफल गरिरहेको छ ।’

उनले महानगरले उद्यमशील तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गरिन् । उनले उद्यमशील तालिम श्रमसँग मात्रै नभई सीप, आत्मनिर्भरता , समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गरिन् । महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *